Pages

केन्यामा आतंकवादी आक्रमण



 नैरोबी (एजेन्सी), आश्विन ७ - पूर्वी अफ्रिकी मुलुक केन्याको राजधानी नैरोबीस्थित सपिङ मलमा शनिबार भएको भीषण आतंकवादी आक्रमणमा ५९ जनाको मृत्यु भएको छ भने १ सय ७५ घाइते छन् । जसमा २ भारतीय, २ क्यानडेली, १ चिनियाँ, १ अमेरिकी र २ फ्रान्सेली नागरिक पनि छन् ।
मारिने भारतीयमा एक ८ वर्षका बालक छन् भने क्यानडाका २ मध्ये १ कूटनीतिज्ञ छन् । बेलायतले आफ्ना ३ नागरिक उक्त आक्रमणमा मारिएको जनाएको छ । ४० जनाको घटनास्थलमै र ४ बालबालिकासहित १९ को स्थानीय अस्पतालमा उपचार क्रममा मृत्यु भएको हो । घानाका कवि कोफी अवुनोको पनि आक्रमणमा परी मृत्यु भएको त्यहाँको राष्ट्रपति कार्यालयले जनाएको छ ।

संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले घटनाको निन्दा गरेको छ । केन्याका राष्ट्रपति उहुर केन्याताका अनुसार आक्रमणमा परी उनको परिवारका सदस्य पनि मारिएका छन् । आक्रमणपछि पुगेका सुरक्षाकर्मीले सपिङ मलमा रहेका सयौंलाई सुरक्षित निकालेका छन् । आक्रमणमा ३ सयभन्दा बढी घाइते भएको केन्याका एक उच्चसुरक्षा अधिकारीले आफ्नो ट्वीटमा उल्लेख गरेका छन् । मृतक तथा घाइतेहरू एक खाना पकाउने प्रतियोगितामा सहभागी थिए । प्रतियोगिता समापन क्रममा रहँदा आक्रमण सुरु भएको थियो ।
अन्तर्राष्ट्रिय आतंकवादी संगठन अलकायदा निकटस्थ सोमालियाली आतंककारी समूह अल शबाबले आक्रमणको जिम्मा लिएको छ ।
सन् २०११ मा केन्याली सुरक्षाफौजले सोमालियामा प्रवेश गरी चलाएको अभियानको जवाफमा उक्त आक्रमण गरेको उक्त समूहको दाबी छ । लडाकु समूहले पर्यटक र सुरक्षाकर्मीहरूमाथि आक्रमण तीव्र बनाएको भन्दै केन्याले सन् २०११ मा आफ्नो फौज सोमालिया पठाएको थियो । उक्त समूहले थप आक्रमणको धम्की पनि दिएको छ । आक्रमणकारीले सपिङ मलमा गि्रनेड फाल्दै राइफलबाट अन्धाधुन्ध गोली बर्साएका थिए । आक्रमणकारीले गैरमुस्लिमहरूलाई छानीछानी हत्या गरेका थिए । विशेष सुरक्षाफौजका २ टुकडीले उनीहरूको प्रतिकार गरेका थिए । आइतबार पनि आक्रमणकारीले गोली बर्साएका थिए ।
करिब १५ जनाको संख्याका उनीहरूले  सपिङ मलमा रहेका केहीलाई बन्धक बनाएका छन् । उनीहरूको रिहाइका लागि अल शबाबले सोमालियामा रहेको केन्याली सुरक्षाफौज फिर्ता गर्नुपर्ने माग गरेको छ । बन्धक बनाइएकाहरूको संख्या यकिन
छैन । सपिङ मलभित्रै फसेका धेरै व्यक्ति लडाकु समूहबाट सुरक्षित लुकिरहेको स्थानीय सञ्चार माध्यमहरूले जनाएका छन् । 'हाम्रो पहिलो प्राथमिकता बन्धक बनाइएका निर्दोष मानिसहरूको रिहाइ हो,' राष्ट्रपति केन्याताले
भने । आक्रमणकारीहरूको संख्या यकिन छैन तर तीमध्ये एक महिला भएको खुलेको छ । सुरक्षाकर्मीको जवाफी कारबाहीमा एक आक्रमणकारी मारिएका
छन् । प्रत्यक्षदर्शीहरूका अनुसार आक्रमणकारीले गोली र विस्फोटक पदार्थ राखिएको बेल्ट बाँधेका छन् तथा एके ४७ राइफल बोकेका छन् । लडाकु समूहबाट मललाई मुक्त गर्न १ दर्जनभन्दा बढी संख्याको विशेष सुरक्षाफौज प्रवेश गरिसकेको राष्ट्रपति केन्याताले जनाएका छन् ।
सन् १९९८ मा नैरोबीस्थित अमेरिकी दुतावासमा भएको आक्रमणयता केन्यामा भएको यो ठूलो आतंकवादी आक्रमण हो । अमेरिकी दूतावास आक्रमणमा २ सय भन्दा बढी मारिएका थिए । सन् २००२ मा सोही समूहले इजरायली नागरिकको होटलमा आक्रमण गरेको थियो भने इजरायली जेट विमान गोली हानी खसालेको थियो । अल शबाबले जुन २०१० मा युगान्डाको
राजधानी कम्पालामा ७९ जनाको ज्यान
जाने गरी घातक आक्रमण गरेको थियो । मारिनेमा सबै विश्वकप फुटबल हेरिरहेका सर्वसाधारण थिए ।
यसैबीच, आक्रमणकारीले बन्धक बनाएका व्यक्तिहरू मुक्त गर्न केन्याली सेनाका साथ इजरायली सैनिक पनि सपिङ मलमा प्रवेश गरेका छन्् । मल आसपास लगातार गोलीका आवाज सुनिएको र सुरक्षाकर्मीहरू आक्रमणकारीलाई जीवित या मृत पक्राउ गर्न प्रयासरत छन्् । करिब २६ घन्टादेखि यो क्रम चलिरहेको छ । केन्याली सुरक्षा स्रोतले इजरायली सैनिक आक्रमण स्थलमा प्रवेश गरेको र उनीहरूले बन्धक तथा घाइतेको उद्धार गरिरहेको बताएको छ । इजरायलको विदेश मन्त्रालयले त्यसको पुष्टि गरेको छैन तर अस्वीकार पनि गरेको छैन । उक्त सपिङ मल इजरायली स्वामित्वमा छ । 
Source: Kantipur

No comments:

Post a Comment